Friday, May 3, 2024
Home > गल्कोटको कुरा > गल्कोट नगरपालीकाद्वारा खेतीयोग्य जमिन प्लटिंगमा रोक

गल्कोट नगरपालीकाद्वारा खेतीयोग्य जमिन प्लटिंगमा रोक

सामाजिक संजालमा सेअर गर्नुहोस
  • 179
  •  
  •  
  •  
  •  
    179
    Shares

 4,100 total views,  3 views today

गल्कोट नगरपालिकाले खेतीयोग्य जमिन मासेर घडेरीको रुपमा प्लटिङ गरी विक्री वितरण गर्न रोक लगाएको छ । बागलुङको सबैभन्दा बढि धान खेती हुँदै आएको गलकोटको समथर फाँटलाई धमाधम प्लटिङ गरेर घडेरीमा विक्री गर्न थालेपछि नगरपालिकाले रोक लगाएको हो । गलकोट नगरपालिका—६ मजुवाफाँट धान फल्ने खेत प्लटिङ गरेर खडेरी बनाई विक्री गर्ने क्रम बढेपछि रोक लगाउनु परेको गल्कोट नगरपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए ।

‘यहाँको खेतीयोग्य जमिनमा धमधम प्लटिङ गरेर घडेरी बनाउँदै विक्री गर्दै गर्न थालेपछि रोक लगाएका हौं,’ सुवेदीले भने, ‘उत्पादन दिने जग्गा मासेर अव्यस्थीत घर बनाउँदा पछि समस्या हुन्छ भनेर रोकिएको हो ।’ स्थानीय तह निर्माणपछि मजुवाफाँटमा केन्द्र तोकिएकाले पनि त्यस क्षेत्र वरपर घर बनाउन चाहानेहरु बढेका छन् ।

उक्त क्षेत्रमा एक वर्षमा तीन बालीसम्म खेती हुँदै आएको छ । गलकोट नगरपालिकाको विशेष बैठकले दुदिलाभाटी, नरेठाँटी, हटिया, हरिचौर, मल्म, काँडेबास, पाण्डवखानी, रिघा लगायतका ठाउँका समथर उब्जाउ जमिन प्लटिङ गर्न रोकेको हो । ‘खेतीयोग्य जमिन प्लटिङ गरी घर घडेरी बनाउने होईन,’ सुवेदीले भने,‘कृषि योग्य जमिनमा खेती नै गर्ने हो ।’

जथाभावी घरजग्गाको विक्री वितरण हुँदा अव्यवस्थीत शहरीकरण बढ्ने भएकाले केही समयका लागि जग्गा प्लटिङ गरेर विक्री गर्न रोक लगाएको गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए ।

‘कसैको व्यक्तिगत जग्गा सधैं प्लटिङ नगर विक्री नगर भनेर त सम्भव नहोला,’ शर्माले भने, ‘नगरपालिका निश्चीत मापदण्ड निर्माण गरेपछि मात्र घर जग्गा विक्री वितरण गर्न दिने गरी रोक लगाएका हौं ।’ नगरपालिकामा सरकारले प्राविधिकहरु पठाएपछि विस्तृत शहरी योजना बनाएर योजना अनुसार नक्सापास गरेर घर निर्माण गर्न दिने उनले बताए ।

‘व्यक्तिको जग्गामा घर नै नबनाउ, घडेरी नै नबेच भन्न सकिदैन,’ शर्माले भने, ‘अब बन्ने शहरलाई अहिलबाटै व्यवस्थीत गर्नुपर्छ भनेर घर बनाउन दिएका छैनौं ।’ समथर भू—भाग बाहेक अन्यत्र जग्गा विक्रीमा कुनै अवरोध नगरिएको उनले बताए ।

Comments

comments